गैंडाकोट । हरि भवानी फाउण्डेशन नेपाल गैंडाकोट ५ ले जनक नमूना माविमा सरस्वती मन्दिर निर्माण गरिदिने भएको छ ।
गैंडाकोट ५ कांग्रेसचोक स्थित जनक नमूना माविको प्राङ्गणमा शनिबार फाउण्डेशनका प्रमुख संरक्षक तथा पूर्व न्यायधिस दयानाथ खरेलले मन्दिरको शिलान्यास गर्नुभएको हो । स्व. हरिलाल खरेल र स्व. भवानी खरेलको स्मृतिमा गठन भएको हरि भवानी फाउण्डेशनले उहाँहरुको कान्छा छोरा, विद्यालयका शिक्षक स्व. त्रैलोक्यनाथ खरेलको स्मृतीमा ४५औं दिनको पुण्य तिथिमा मन्दिर निर्माण गर्न लागेको हो । स्व. त्रैलोक्यनाथ खरेलले ८ वर्ष अस्थायी र १७ वर्ष स्थायी गरि २५ वर्ष यस विद्यालयमा अध्यापन गराउनुभएको थियो । स्व. खरेलकी श्रीमती एवं फाउण्डेशनका उपाध्यक्ष मीना चापागाई खरेलले श्रीमानले लामो समय विद्यालयमा अध्यापन गरेको र सोही अनुरुप उहाँको सम्झनामा मन्दिर निर्माण गर्न लागिएको बताउनुभयो ।
वार्षिक तिथि सम्ममा मन्दिर निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गर्ने प्रमुख संरक्षक दयानाथ खरेलले जानकारी दिनुभयो । मन्दिर निर्माणमा गुरुयोजना अनुरुप १० लाख वढि लागतको अनुमान गरिएको उहाँले बताउनुभयो । प्यागोडा शैलीको, कम्पाउण्ड सहितको आकर्षक मन्दिर निर्माण गरिने उहाँको भनाई छ ।
जनक माध्यामिक विद्यालयको नमूना विद्यालय विकास गुरुयोजना अनुरुपको नाप नक्सा बमोजिमको सरस्वती मन्दिर निर्माण हुने जनक नमूना मावि व्यवस्थापन समितिका अध्यक्ष एवं गैंडाकोट ५ का वडा अध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो ।