
गैंडाकोट । जनक नमुना माध्यमिक विद्यालयमा हिंसा सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न भएको छ । रेडक्रसले देश भरीबाट दुइवटा जिल्लामध्ये नवलपरासी बर्दघाट सुस्ता पुर्वबाट ५ वटा विद्यालय छनोट गरी यस किसिमको कार्यक्रम सञ्चालन गरेको हो ।

पाइलट कार्यक्रम अन्तर्गत सञ्चालन भएको यस कार्यक्रममा सामाजिक समावेसीकरण, अहिंसा तथा शान्तिको संस्कार प्रवर्धन गर्ने उद्देश्यले हिंसा रोकथामका कार्यक्रमहरु सञ्चालन गरेको हो ।

यस कार्यक्रममा महिला हिंसा, वृद्ध विद्धा, बालबालिकामा हुने गरेको शारिरिक मानसिक, तथालैङगिक हिंसामा परेका मानिसहरुलाई के कसरी जोगाउन सकिन्छ वा यस किसिमका समस्याहरुलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएको थियो। विद्यालयमा भएका बालबालिकाहरु तथा तिनीहरुको घर लगायत छरछिमेकमा हुने हिंसा लाई कसरी न्युनिकरण गर्न सकिन्छ । हिंसा के कति कारणले हुने गर्दछ । यसका न्युनिकरणका उपायहरु के हुन् ? भन्ने विषयमा विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको थियो । जनक माध्यमिक विद्यालयको प्राङ्गणमा जुनियर/तथा युवा रेडक्रस सर्कल जनक माविको आयोजनामा सञ्चालन भएको कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी,गैंडाकोट शाखाका सचिव विष्णु प्रसाद शर्माको उपस्थिति रहेको थियो ।

विद्यालयका करिब१०० जना विद्यार्थी प्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माले विद्याथीहरुको पहिलो पाठशाला घर भएकोले हिंसाको रोकथाम घरबाटै सुरु गर्नु पर्ने आवश्यकता रहेको र विद्यार्थी यस मानेमा सचेत रहनु पर्ने कुरालाई प्रष्टपार्दै हिंसाहरु रोक्न विद्यार्थीहरुले आफ्नो छरछिमेकमा सचेतना जागाउनु पर्ने तथा सामाजिक रुपान्तरणमा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो ।

विद्यालयका सह प्रधानाध्यापक तथा शिक्षक नायक नारायण प्रसाद तिमिल्सिना र शिक्षक सुशिला सिग्देलले प्रशिक्षण दिनु भएको कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप व्यवस्थापन संयोजक नरेन्द्र कमाल, शिक्षक बाबुराम पोख्रेल लगायतको उपस्थिती रहेको कार्यक्रमको सभापति जुनियर तथा युवा रेडक्रस सर्कल जनक मा.वि का अध्यक्ष निर्देश तिमिल्सीना रहनु भएको थियो ।